बैशाख ०४, २०७८, शनिबार
               

उसको भगवान अनि छ्या ! त्यो रक्सी

चेतन पाण्डे
फागुन १९, २०७७

ADVERTISEMENT

समय त बादलका थुम्को झैँ हुँदो रहेछ । अनेकौँ रूप रङ्ग र भाव भङ्गी देखाइ रहने ।

भ्रम मात्र हुन्छ, बादलको रूप । नजिक पुग्दा थाहा पाइन्छ । झुक्काउँदो रहेछ, मात्र धुवाँका मुस्लोले पनि । पत्तै नपाइ । समय जस्तै । जिन्दगीका हरेक घटनाक्रम पनि बादलको स्वरूप झैँ हुँदा रहेछन् । विशाल कायामा देखिने बादल कुन बेला हावाको बहाव झेल्न नसकेर अनन्तमा हराउँदो रहेछ । कसरी हरायो, पत्तै नहुने । समय जस्तै । चालको पत्तै नपाइने । जब कसैले सम्झाउँछ मन ढक्क फुल्छ । अनि लाग्छ, हो त नि । समयले बगाएर निकै वर ल्याइपुर्‍याइ सकेछ । बितेका मिठा–तीता पललाई न फर्केर आफैँसँग हिँडाउन सकिन्छ नत कतै हराएका साथीसँग फर्केर अँगालो मार्न सकिन्छ । निष्ठुरी पनि हुँदो रहेछ, समय । सधैँ बेपरवाह ।

०००

सत्य बोल्ने हो भने मैले कहिल्यै फुलेका कपाल र चाउरिएका छालाको यो कायामा बास हुन्छ भन्ने कल्पना गरेको छैन । अब लाग्छ, समयले ती दिन पनि देखाउने नै छन् । प्रतीक्षा गर्ने धैर्य मात्र पाल्न सक्नु पर्छ । समयले जसरी बिन्दास बालापन खोस्यो । जसरी मस्त जवानी हर्‍यो । पक्का छ, बुढेसकाल पनि उपहारमा दिने नै छ । बुढेसकाल त एउटै मात्र सर्तमा आउँदैन । मृत्युसँग सहकार्य गरे मात्र । तर, मलाई बुढेसकाल स्वीकार्य छ, मृत्यु अस्वीकार्य । एक पटक पाएको यो मानिसको चोलाबाट चाँडै बिदा हुने चाहना कसलाई पो हुँदो र’ मलाई हुन्छ भन्ने ।

कहिले काहीँ त सोच्छु पनि । कतै योभन्दा मरेपछिको लोक बिन्दास त छैन ? पैसाको मूल्य शून्य र मायाको मूल्य अमूल्य हुने परलोक त छैन ? मित्रतामा स्वार्थको बास नभएको । मरे पछि कतै बेकाममा आउन ढिला गरिएछ भन्ने लाग्ने त होइन ? थाहा छ, मेरा यी सोच गलत हुन् । जुन शरीर लिएर यो लोकमा आइएको छ, त्यसलाई छाडेर काया बिहीन भएर पुगिने लोक कुनै पनि अवस्थामा राम्रो हुन सक्दैन । रोमाञ्चक हुन सक्दैन । बाँचिरहे त यही लोकलाई मस्तसँग भोग्न सकिन्छ । सुख–दुखसँग पैठे जोरी खेल्न सकिन्छ ।

मेरा बाबा जस्ता थिए । भगवानमा जसरी आस्था पोख्थे, ममा पनि त्यही क्रमको निरन्तरता छ कि जस्तो लाग्छ । हिन्दु धर्ममा लगाव राख्थे तर, मूर्ति पूजामा कहिल्यै विश्वास गरेनन् । मेरी पत्नीमा उसका बुवा–आमाको संस्कारको बास छ । धर्मलाई जिन्दगीको आधार मान्ने । गलत न उ छ, नत म नै । बस्, सोचाइ मात्र फरक छ । उसको र मेरो । धर्म कसरी गर्न सकिन्छ भन्ने मामिलामा ।

मन, मस्तिष्क र हेर्ने आँखाहरू सबै यहीँ भस्म गरिन्छन् । अनि केले सोच्ने, केले हेर्ने, त्यो परलोकलाई ? त्यसैले मेरो नीति स्पष्ट छ । जति बाँचिन्छ, मस्तीका साथ बाँचिन्छ । न कसैको प्रभावमा नत केहीको लोभमा । न कुनै धर्म गर्ने वाचाका साथ नत कहिल्यै पाप गर्दिन भन्ने वचनका साथ । न कहिल्यै धर्म कमाउने लोभ नत पाप गरिएला कि भन्ने चिन्ता । बन्छु त बस्, आफ्नै मनको राजा ।

०००

लेखि सकेँ । मेरी पत्नीले मलाई उसको धारणा अनुसारको धर्मात्मा बनाउने प्रयास कहिल्यै छाडिनन् । अहिले पनि कायमै छ । मूर्ति होस् वा हामी जस्तै आमाको जननेन्द्रियबाट जन्मिएका मानिस, जो आफैँलाई भगवान भनाउन रुचाउँछन् । त्यस्ताको भक्त बनाउने अनेकौँ असफल प्रयास गरिन् । भगवानले जे पनि गर्न सक्छन् भन्ने उसको सोचको परिणाम थियो त्यो । वा उसले पाएको संस्कार ।

मेरा बाबा जस्ता थिए । भगवानमा जसरी आस्था पोख्थे, ममा पनि त्यही क्रमको निरन्तरता छ कि जस्तो लाग्छ । हिन्दु धर्ममा लगाव राख्थे तर, मूर्ति पूजामा कहिल्यै विश्वास गरेनन् । मेरी पत्नीमा उसका बुवा–आमाको संस्कारको बास छ । धर्मलाई जिन्दगीको आधार मान्ने । गलत न उ छ, नत म नै । बस्, सोचाइ मात्र फरक छ । उसको र मेरो । धर्म कसरी गर्न सकिन्छ भन्ने मामिलामा ।

मलाई अरूको आस्था र विश्वासमाथि प्रश्न उठाउनु पर्छ जस्तो कहिल्यै लागेन । लाग्यो त बस्, मेरो मामिलामा कसैले औँला नघुसारोस् । मेरा संवेदनामा खेलेर दबाबमा नपारियोस् ।

समयले मेरो बाहिरी आवरणमा धेरै परिवर्तन ल्याएको होला । तर, मेरो सोचमा परिवर्तन ल्याउन सकेको छैन । युवावस्थामा म जस्तो सोच्थेँ, आज पनि त्यसमा रौँ बराबर भिन्नता छैन ।

केही दिन अघि मात्र त हो । लामो समय पछि वार्तालाप गर्ने मौका जुरेको साथीले समय कसरी बितेछ भनेर याद दिलाउँदा स्मरण शक्ति नै खलबलियो । हो, उसले मलाई वा मैले उसलाई नदेखेको पनि ३० वर्षभन्दा बढी भइसकेको रहेछ । तर, ऊसँगका सम्झनाहरू अहिले पनि सफा पोखरीको डिलमा बसेर हेर्दा देखिने बिम्ब झैँ चम्किला लाग्छन् । उ मात्र के मेरा मनमा बसेका हरेकसँगको सम्झनालाई आज पनि मनको रेफ्रिजेरेटरमा ताजा बनाएर राखेको छु । विश्वास छ, समयले सम्झना मार्न सक्दैन । सम्बन्ध मार्न सक्दैन । सोच मार्न सक्दैन ।

०००

पत्नी, छोरी र म एक पटक पुट्टपर्ती गएका थियौँ । एक पटक मात्र के धेरै पटक गइयो । मेरी पत्नी साइ बाबाको परम भक्त अनि म मानिसलाई भगवान नमान्ने कट्टर नास्तिक । उसकै भाषामा । अहिले पनि मान्छिन्, तर पहिले जस्तो लगाव छैन कि जस्तो लाग्छ । साइ बाबाको परलोक यात्रासँगै उसको लगावमा पनि कमी आयो कि ? भन्ने लाग्छ । नहुन पनि सक्छ । अहिले पनि ठ्याक्क भन्न सक्दिन ।

त्यस बेलाको हाम्रो भ्रमण तालिका त्यति लामो हुँदैन थिए । म कतै अन्य मुलुक पनि जाऊँ भन्ने । उ हुन्छ भन्ने । अनि अनेक सहरको नाम लिने । अन्त्यमा जाने ढिपी एउटै ठाउँको, पुट्टपर्ती । अनि म थप्थेँ चेन्नइ । कहिले काहीँ बैंगलोर र तिरुपति पनि । 

दक्षिण भारतको यात्रामा निस्कँदा चेन्नइको यात्रा अत्यन्त रोमाञ्चक लाग्छ । पढाइको सिलसिलामा केही वर्ष बिताएको ठाउँ पनि भएर होला । हामी बस्दा मद्रास, चेन्नइमा परिवर्तन भइसकेको थिएन ।

हामी मद्रास जानुभन्दा एकाध वर्ष अगाडि मात्र राजीव गान्धीको हत्या भएको थियो । मद्रास नजिकैको गाउँमा । मद्रासबाट भेलोर जाँदा त्यही बाटो भएर जानु पर्थ्यो । बन्जर थियो, त्यो ठाउँ त्यति बेला । स्मारकका रूपमा भव्य बनेको छ, अहिले । ‘एउटा हत्यापछि समृद्ध बनेको श्रीपेरुम्बदुर’ इतिहास लेख्दा यस्तै नाम दिन मिल्छ, त्यो स्थानलाई ।

हामी बस्ने आदम्बकमको नजिकै थियो, एउटा सानो डाँडो । डाँडोको टुप्पोमा चर्च । नाम थियो, सेन्ट थोमस माउन्ट । हामी साथीभाइका लागि प्रिय थलो । विशेष गरी समय कटाउनका लागि ।

त्यहाँ थियो त बस्, पुरानो चर्च र वरिपरि मानिस गाड्ने चिहान । त्यही डाँडोसँग जोडिएको थियो, मद्रासको अन्तर्राष्ट्रिय विमानस्थल । अर्कोतिर गोर्खा रेजिमेन्टको ब्यारेक । त्यही चिहान तिर रहेको ढुङ्गा टाउको अड्याएर आकाश तिर हेर्दा विमानस्थलमा उडान र अवतरण गर्ने विमानहरू आफ्नै शिरलाई छुँदै उडे र ओर्ले जस्तो लाग्ने । रमाइलो लाग्थ्यो, त्यो क्षण, त्यो दृश्य । मन रमाइलो भएको बेला । घरको यादले सताउँदा भने रिस उठ्यो ती विमानका यात्रुसँग पनि । लाग्थ्यो, शायद कति आफ्ना घर जाँदै होलान् । सोच्दा पनि मन खिन्न हुन्थ्यो ।

विद्यार्थी न परियो । जब खल्तीको भार कम हुँदै जान्थ्यो । घरबाट कहिले पैसा आउला भनेर चना खाँदै प्रतीक्षाका घडी कटाउन सजिलो पार्थ्यो, त्यही स्थानको बसाइले । बस्न लागेका र उड्न लागेका विमान हेर्दै । बाबा–ममीसँग पनि रिस उठ्थ्यो नै । आफूहरू मस्तीसँग बसेका होलान् ? मिठो मिठो खाएका होलान् ? यहाँ हाम्रो दुखको के मतलब भने जस्तो । तर, कसरी बस्न सक्थे र’ बाबु–आमा आफ्ना सन्तानलाई पिडामा पारेर ।

अहिले जस्तो काठमाडौँको बैङ्कमा जम्मा गरेर भारतमा एटिएमबाट रकम झिक्ने सुविधा कहाँ थियो र’ । काठमाडौँमा तयार पारिएको ड्राफ्ट कुरियरबाट आउँथ्यो । समय त लाग्थ्यो नै । अबुझ हामी नै थियौ कि ?

मोबाइलको युग पनि सुरु भएको थिएन नै । घरबेटी कै टेलिफोन हाम्रो साझा टेलिफोन थियो । पढेर आउने बित्तिकै सोधिन्थ्यो । हामीलाई कतैबाट फोन आएको छ कि भनेर । छैन भन्ने जवाफले निराश पार्थ्यो । बल्लतल्ल फोन वा पार्सल आएको थियो भन्ने जवाफ सुन्न पाउँदा मन नै फुरुङ हुन्थ्यो ।

पैसा हात परेपछि पहिलो यात्रा हुन्थ्यो । माउन्ट रोडमा रहेको रेस्टुरेन्ट र सिनेमा हलको । पैसा पठाउने बाबु–आमालाई घरबाट फोन आउँदा धन्यवाद दिउँला भन्दै । बाबा–ममीले दुख–सुख पठाएको कति पैसा त यसरी नै स्वाहा पारिन्थ्यो । तर पनि, मद्रासको बसाइमा निकै दुख गरियो भन्ने भ्रम अहिले पनि मनमा आउँछ । खै किन हो कुन्नि ?

कहिले काहीँ कसैले ‘तिमीहरू त काठमाडौँका ! डेरावालाका दुख के नै थाहा हुन्छ’ भनेर चिढ्याउँदा मनमा रिस पनि उम्लिएर आउँछ । डेरावालाको दुख कस्तो हुन्छ । आफैँले खाएको भाँडा माझ्दा कस्तो अनुभव हुन्छ । थकित भएर कोठामा फर्किँदा भोको पेट भर्न हतार हतार खाना पकाउँदै गर्दा भाँडाबाट निस्कने सुगन्ध कति आनन्ददायक हुन्छ । सबै भागेको छु । जब न्यास्रो लाग्छ, त्यति बेला धर परिवारको सम्झना कति आउँछ भन्ने पनि थाहा छ । कहिले सम्झन्थेँ आफैँलाई, माउको न्यानो काखबाट थुतेर कतै लगिएको बचेरो झैँ । सागरबाट तातो बाफ बनेर बहिरहँदा फेरि त्यही पानीको स्वरूपमा ढलेर सागरमा मिल्ने आसामा निस्फिक्री उडिरहेको हावाको तडप झैँ मेरो मनमा पनि जागेकै थियो घर फर्कने हुटहुटी । त्यो पनि महसुस गरिएकै हो । छुट्टीमा काठमाडौँ फर्कने टिकट किनेपछि घर फर्कने तडपमा आँखाबाट हराउने नीद बिनाको जिन्दगी पनि व्यहोरियो नै । आज सम्झँदा ती दिनहरू जिन्दगीको सानो हिस्सा जस्तो मात्र लाग्छन् । जिन्दगीका सानो दुख ।

अरूको  आस्थालाई होच्याउने मेरो स्वभाव छैन । तर, मैले साई बाबामा कहिल्यै भगवानको प्रतिबिम्ब देख्न सकिन । जे छैन, त्यो कसरी देख्न सकिएला र’ खै ? यति मात्र मनमा लाग्यो ।

कुरो अलि बरालिए छ । याद पनि कहिले कहाँबाट ठोक्किन आउँछन्, पत्तै नहुने । नदी झैँ बग्नै पर्ने । बिम्बका मानचित्र भित्र । 

म पहिलो पटक पुट्टपर्ती जाँदा पत्रकार दाइ जिवेन्द्र सिम्खडाले जिस्काउँदै भनेका थिए, ‘अब तिमी पनि साइ बाबाको भक्त भएर आउने भयौँ ।’ मैले ‘हुन्न’ मात्र भनेको थिएँ । भइयो भने पनि के नै भन्ने मनमा खेलेकै थियो । अरूको  आस्थालाई होच्याउने मेरो स्वभाव छैन । तर, मैले साई बाबामा कहिल्यै भगवानको प्रतिबिम्ब देख्न सकिन । जे छैन, त्यो कसरी देख्न सकिएला र’ खै ? यति मात्र मनमा लाग्यो ।

प्राय यात्रामा परिवारका अरू पनि कोही न कोही हामीसँग जोडिन्थे । त्यो बेला साथ जाने कोही थिएनन् । म, पत्नी र छोरी मात्रको यात्राका बेला एकाध हप्ता नै बसियो, पुट्टपर्ती । छोरी सानै थिई, छोरो जन्मिसकेको थिएन । लामै समय बितिसकेको रहेछ, समय । फेरि त्यो समय ताका खान–पिनमा विशेष रुचि पनि रहन्थ्यो । जँड्याहा होइन तर, खाने पिउने मौकालाई खेर जान दिइन्न थियो । पत्नीका लागि मेरो त्यो आचरण खल्लो लाग्दो रहेछ । अन्य महिलाको सङ्गत र रक्सीलाई दुस्मन देख्ने मेरो पत्नी मात्र संसारको एक मात्र पत्नी नहोलिन् । तर, महिला तिर भने मन बरालिएन । पुट्टपर्तीमा रहँदा न मासु खाइन्थ्यो नत झोल पदार्थ नै । अरूको आस्था र विश्वासको थलोलाई प्रदूषित गर्ने अधिकार मसँग छैन भन्ने सोचले मात्र ।

पुट्टपर्तीको बसाइ पछि मद्रास गइयो । केही दिनका लागि । त्यहाँ भने मेरो मर्जीमा कसैको पाबन्दी लाग्दैन थियो । 

मद्रासमा दिनभरिको घुमाइपछि अन्त्यमा मरिना बिच गइयो । विश्व कै लामो मध्ये एउटा समुन्द्र तट । समुन्द्रको किनारा अनि फ्राई हुँदै गरेको माछाको मिठो सुगन्ध । कसलाई मन नपर्ला ? मन बनाइयो, त्यहाँबाट माछा किन्ने, होटेल नजिकै रहेको वाइन सपबाट ह्विस्की किन्ने । धेरै दिनपछि जिब्रोलाई मदिराको स्वाद चखाउने । योजना अनुसार सबैभन्दा राम्रो जातको फ्राई माछा किनियो । अनि त्यो बेला नेपालमा पनि अत्यधिक प्रचलनमा रहेको म्याक डवेल्स ह्विस्की पनि । धेरै दिनपछि मौका जुरेको, कति पिइन्छ ठ्याक्क यकिन गर्न सकिएन । हाफ बोतल किनियो ।

होटेलमा फर्किए लगत्तै दिनभरिको डुलाइले लखतरान पत्नी र छोरी खाना खाएर सुते । म भने पहिला पिएर खाना खान्छु भनेर बसेँ । साह्रै मिठो पारामा बोतलबाट गिलासमा ह्विस्की खन्याए । मुखमा पानी आउन सुरु भइसकेको थियो । सबैभन्दा पहिला माछाको एक टुक्रा खाएँ । धेरै मिठो लागेन, सामान्य लाग्यो । साथमा बाहिरबाटै ल्याएको पकौडा र होटेल मै बनाउन लगाएको स्न्याक पनि थियो ।

पत्नीलाई नदिई माछा एक्लै खाने कस्तो लोभी बाहुन रहेछ भन्ने भ्रम पनि कतिको मनमा आउला । खासमा त्यो भ्रमण र पछिल्ला केही वर्षसम्म पत्नीजी शुद्ध शाकाहारी थिइन् । आजकाल विशुद्ध मांसाहारी बनेकी छन् । छोरी माछा भने पछि खानै डराउने । उनीहरूले नखाने कुरा किन किन्नु भन्ने सोच त्यो बेला मनमा आएन पनि । आफ्नो मात्र सोचियो ।

माछाको एक पिस र अन्य स्न्याकले ह्विस्कीका लागि सलबलाइ रहेको जिब्रोलाई काबुमा ल्याइयो । अनि बच्चाले खेलौना पाए झैँ खुसी मनाउने बहानामा च्याप्प गिलासलाई समातेँ । बिस्तारै मुख तिर उचालेँ । ओठको मिठो चुम्बन पहिले गिलासको भागमा पर्‍यो । अनि सललल... ह्विस्की मुखभित्र खनियो । तड्पिरहेको जिब्रो झन् तड्पियो । आखिर जिब्रोमा ह्विस्की पर्नु थियो पर्‍यो नै ।

छ्या ! कस्तो नमिठो लागेको त्यो ह्विस्की । स्वादै नभए झैँ । तीतो तीतो । फेरि हत्त न पत्त गिलासबाट फेरि एक चुस्की लिएँ । साह्रै नमिठो लाग्यो । अन्य स्न्याकले जिब्रोलाई तह लगाएँ । अनि सोच्न थालेँ, यस्तो नमिठो रक्सी पनि हुँदो रहेछ भनेर । केही नसोची बोतललाई डस्ट बिनमा फालिदिएँ । पहिले मद्रासमा बस्दा पनि कहिले काहीँ त्यही रक्सी खाइएकै थियो । त्यस्तो नमिठो कहिल्यै लागेको थिएन ।

रक्सी कहिल्यै मेरो आवश्यकताभित्र परेन । तर, रमाइलोका लागि सधैँ असल मित्रका रूपमा मात्र रहिरह्यो । त्यो क्षणले भने मलाई चित्त दुखायो । जुन योजना दिमागमा बुनिएको थियो । त्यो सिसा झैँ चर्ल्याम्म फुट्दा चित्त त दुखिहाल्दो रहेछ । चाहना पुरा गर्न नपाउँदा कसको मन पो हाँस्छ होला ।

बिहान उठेर पत्नीले डस्ट बिनमा भरी बोतल देखिछन् । अनि उठाउँदै सोधिन्, ‘खाएनौ छौ त राति, अनि किन फालेको ? बिरामी भयौ कि क्या हो ? कि एउटा बोतल रित्याएर अर्को बोतल किनेर ल्याएर खान नसकेको हो ?’

एकै पटक प्रश्नको लामै वर्षा भयो । ‘खै मिठै लागेन !’

मेरो जवाफ सुनेर पत्नी साह्रै खुसी भइन् । भनिन्, ‘मैले तिमीलाई रक्सी नखाने बनाइ दिनुस् भनेर साइ बाबासँग प्रार्थना गरेको थिएँ, पुरा भयो जस्तो छ ।’ 

साइ बाबा साँच्चै भगवान नै हुन् कि ? दोधारमा परेँ । अनि मन मनै भनेँ, ‘म कति नै जँड्याहा हुँ र’ । रक्सी नखाई बाँच्न नसक्ने । रक्सी मिठो नलागे नखाउँला । आखिर त्यो चिज जिन्दगीको आवश्यकता पनि होइन नि । मात्र शुद्ध मनोरञ्जनको एउटा माध्यम मात्र त हो ।’ तरपनि, लाग्यो ‘कहिले काहीँ पनि खान नपाए के को जिन्दगी । मानिससँग उठबस मै कमी आउँछ । अनि मस्त माहौल जम्दा कसले पो सम्झिएलान् मलाई ?’

मलाई त झनक्क रिस उठ्यो । भनेँ, ‘म जँड्याहा हो र ? के म प्रार्थना गरेरै रक्सी छुटाउनु पर्ने अवस्थामा आइसकेँ ?’ उ हाँसी मात्र । शायद साइ बाबामा अति विश्वास भएर पनि होला । उसलाई पक्का भयो, अब म कहिल्यै रक्सी खान्न भन्ने ।

मेरो मनमा पनि दिक्दारी चढ्यो नै । भ्रममा पनि परियो । ‘कहिले काहीँ यसो साथीभाइसँग बसिन्थ्यो । अलि अलि पिइन्थ्यो । रमाइलो गरिन्थ्यो । पिउन छाडे त साथीभाइको पनि साथ छुटी हाल्ला नि ? मेरो आनन्दमा मेरी पत्नी नै बाधक हुने भई । अलि अलि जोइटिङ्ग्रे थिएँ । अब त सत प्रतिशत बनाउने भई । म जस्ताले पत्नीको अगाडि मुख खोल्ने भनेको खाएको बेला त हो नि । अरू बेला त मौनम् ब्रतम्, बहुतम् सुखम् त हो ।’

यस्ता धेरै तर्कना मनमा खेले । कन्फ्युजमा परेँ । साइ बाबा साँच्चै भगवान नै हुन् कि ? दोधारमा परेँ । अनि मन मनै भनेँ, ‘म कति नै जँड्याहा हुँ र’ । रक्सी नखाई बाँच्न नसक्ने । रक्सी मिठो नलागे नखाउँला । आखिर त्यो चिज जिन्दगीको आवश्यकता पनि होइन नि । मात्र शुद्ध मनोरञ्जनको एउटा माध्यम मात्र त हो ।’ तरपनि, लाग्यो ‘कहिले काहीँ पनि खान नपाए के को जिन्दगी । मानिससँग उठबस मै कमी आउँछ । अनि मस्त माहौल जम्दा कसले पो सम्झिएलान् मलाई ?’

एउटा निष्कर्ष निस्कियो मनमा । परीक्षण नै सही आज पनि पिउने कोसिस गर्ने । बरु, ब्रान्ड चेन्ज गर्ने । त्यो दिन सानो बोतल ब्लु रिबान्ड जिन किनेँ । अनि साधारण स्न्याक पनि । आँट आएन ठुलो बोतल किनेर हिजो झैँ फाल्ने ।

घुमफिर गरेर बेलुका होटेल आएपछि हत्त न पत्त पिउने मेसो मिलाएँ । पत्नी त मक्ख नै थिइन् । आज अर्को बोतल पनि डस्ट बिनमा फालिने भयो भनेर । त्यो दिन भने पिउने बहानामा उत्ताउलो बनिन । बिस्तारै मुखमा लगेँ । मन न्यास्रो थियो नै । आज पनि खान नसक्ने हो कि ?

जिब्रोमा जिन छरपस्ट हुन समय लागे । तर, गज्जबै भयो । साह्रै मिठो लाग्यो, त्यो जिन । साइ बाबाको त्रास हट्यो मनबाट । अनि जिब्रो पड्काउँदै पत्नी ती हेरेँ । पहिला मुखलाई कालो बनाइन् । अनि अचम्म मान्दै सोधिन्, ‘मिठो रहेछ ?’ मैले मुसुक्क हाँसेर नाच्ने पारामा गर्धन मात्र हल्लाएँ । अनि अर्को एक चुस्की लगाएँ ।

त्यो बेला ऊसँगै मेरो भ्रम पनि टुट्यो । गर्न मन लागेको काम कसैले रोकेर रोक्न सक्दैन । न उसको भगवानले नत मेरै भगवानले । अनि ढुक्क भएँ, मानिस भगवान बन्न सक्दैन रहेछ ! पत्नीजीको आसा निराशामा परिणत नभएको भए, आउँदा दिनमा मेरा बिम्बमा लेखिने कतिपय पात्रहरू ओझेलमा पर्ने थिए । नलेखिएका कथाका पात्र झैँ । पक्का ! अनि म रक्सी पिउँदै मातिएका साथीहरूको भीडमा जुस पिउने पात्र बनेर बस्नु पर्ने बाध्यता त आइलाग्थ्यो नै ।

हिजोआज त्यति पिइँदैन । त्यसैले कति साथीभाइको सङ्गत पनि छुटेको छ । जिन्दगीमा के आवश्यक छ र के अनावश्यक भन्ने यकिन गर्न पनि मुस्किल नै पर्दो रहेछ । जे खराब छ, त्यही नै जिन्दगीमा साथीभाइ कमाउने आधार बन्दो रहेछ । हिजोआज यस्ता कुरा सोच्दा भने अचम्म लाग्छ । लाग्छ, त्यो दिन नै मेरी पत्नीको कामना पुरा भई दिएको भए हुन्थ्यो । कमसेकम रेस्टुरेन्टको टेबलबाट सुरु भएर त्यहीँ पूर्ण विराम लगाइएको केही स्वार्थी मित्रको सङ्गतबाट त बचिन्थ्यो । अनि जिन्दगीमा जति कमाइन्थ्यो, सच्चा मित्र मात्र कमाइन्थ्यो ।

त्यसैले भन्छु, निष्ठुरी हुँदो रहेछ समय ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय पाण्डे फ्ल्यास संचार प्रालिका अध्यक्ष हुन् ।

कस्तो लाग्यो ?

यो पनि